अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

Back to News

भक्तपुर, सोमबार, साउन १४, २०८१ नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाद्वारा ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ’ अन्तक्रियाका सहभागीले अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रवाह सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए। सञ्चारकर्मी एवं अपाङ्गता क्षेत्रमा काम गर्ने संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य लागायत अन्य अधिकारको पहुँच पुर्‍याउन सञ्चार माध्यमले त्यस सम्बन्धी  विषय उठान गर्नुपर्ने बताएका थिए। कार्यक्रममा संघका काठमाण्डौ उपत्यका  शाखाका प्रबन्धक शरद अर्यालले संघले स्थापनाकालदेखि हालसम्म परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अन्य विभिन्न स्वास्थ्यका क्षेत्रमा सञ्चालन गरेको कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिँदै संघले अपाङ्गतामैत्री सेवा समेत प्रवाह गरिरहेको र अन्य स्वास्थ्य निकायमा पनि यस्तो व्यवस्था हुनुपर्ने औँल्याए।

उनले संघले गत वर्ष चार हजार तीन सय नौजना अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिएको जनाउँदै संघले  भबिष्यमा अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पहुँच स्थानीयस्तरमै पुर्याउने लक्ष्य रहेको बताए । उनले भने संघले अन्य केही पालिकामा समेत अपांग मैत्री सेवा संचालन गर्दै आईरहेको छ र यसको प्रभावकारिता समेत बढेको छ ।

शाखा प्रबन्धक अर्यालले परिवार नियोजन सङ्घले सन् २०१९ देखि अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित गरी प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतनात्मक कार्यक्रमका विविध प्रकारका अपाङ्गता भएका व्यक्तिलाई नै साथी शिक्षकको तालिम दिएर समुदायमा परिचालन गर्दा यसले निकै सकारात्मक प्रभाव पारेको र अपाङ्गता भएका व्यक्तिको जीवनमा नयाँ ऊर्जा थपेको जानकारी दिए। 

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्थासम्बन्धी अध्येता  अनुप अधिकारीले नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरी संविधान एवं कानुनमा गरिएको व्यवस्था कार्यान्वयनमा नआउँदा अपाङ्गता भएका व्यक्तिको अधिकार हनन भइरहेको टिप्पणी गरे। उनले कतिपय अपाङ्गता भएका व्यक्तिको जीवन निकै कष्टकर बनेको उदाहरण प्रस्तुत गर्दै उनीहरूको अधिकारलाई सुनिशिचत गर्न देशका तीनवटै सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई सचेतना तालिम दिँदै आउनुभएकी अम्बिका कुइँकेलले समाज र परिवारमा अपाङ्गता भएका व्यक्तिले विवाह गर्न नहुने, सन्तान जन्माउन नहुनेजस्ता सोचले समस्या परेको जनाउँदै अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्नुपर्ने बताए। यस्तै अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई सचेतना तालिम दिँदै आएकी सन्जिया श्रेष्ठले नेपाल परिवार नियोजन संघले अपांगता भएका व्यक्ति एवं परिवारलाई महिनावारी स्वच्छता, सरसफाइ, मायाप्रेम, विवाह, सन्तान जन्माउने चाहनालाई बञ्चित गर्न नहुने बारेमा शिक्षा दिंदै आएकोले यस्ले त्यस्ता ब्यक्तीहरुमा परिवार नियोजनका साधनको ज्ञान र प्रयोगमा बृध्दी  भई त्यस क्षेत्रका व्यक्तिहरू लाभान्वित भएको बताए।

कार्यक्रममा सिबिआर भक्तपुरमा कार्यरत गङ्गा प्रजापति, सुनिता दुवाललगायतले अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे बुझाउन थालेपछि समुदायमा परिवर्तन आएको जनाउँदै अझैपनि नेपालमा आर्थिक सङ्कटले अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग र आर्थिक रूपमा विपन्न वर्गलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सेवा सुनिश्चिता गर्न थुप्रै समस्या र चुनौतीहरू रहेको बताए।