बृहत यौनिकता शिक्षालाई अनिवार्य विषय बनाइनुपर्नेमा जोड

Back to News

हेल्थ टिभी अनलाइन : बृहत यौनिकता शिक्षालाई ऐच्छिक नभई अनिवार्य विषय बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल परिवार नियोजन संघले यूएनएफपीएसँगको सहकार्यमा आयोजना गरेको बृहत यौनिकता शिक्षा : नीतिगत पैरवी र रणनीतिक योजना विषयक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै परिवार नियोजन संघका कार्यकारी निर्देशक डा प्रवीन शाक्यले बृहत यौनिकता शिक्षालाई पाठ्यक्रममा ऐच्छिक विषयमा राख्दा धेरैले यो विषय नपढाउने गरेको र विषयवस्तु शिक्षक नहुँदा समस्या हुने गरेको बताए । उनले यौनिकता शिक्षा विषय संवेदशनशिल भएकाले यो विषय तालिमप्राप्त शिक्षकले मात्र पढाउनसक्ने समेत जिकीर गरे । उनले यौनिकता शिक्षालाई ऐच्छिक नभएर अनिवार्य विषय बनाइनुपर्नेमा जोड दिए । यौनिकता शिक्षाकाबारेमा राम्ररी बुझाउन सकेमा अहिले भइरहेको बाल बिवाह, सानै उमेरमा हुने गर्भधारण, असुरक्षित यौन क्रियाकलाप जस्ता घटना कम हुँदै जाने पनि उनले जिकीर गरे ।

यसैगरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले बृहत योनिकता शिक्षा किशोरावस्थामा प्रवेश गर्दै गरेका बेला दिन सके पछि हुने सक्ने जोखिमबाट जोगाउनसक्ने बताइन । यसैगरी यूएनएफपीएकी अपेक्षा राणाले यौनिकता शिक्षा सबैका लागि त्यसमा पनि किशोरकिशोरीका लागि असाध्यै आवश्यक रहेको जिकीर गरिन्।

कार्यक्रममा यूएनएफपीएकै अबिराम रोयले आफनो प्रस्तुतीकरण दिंदै भने, ‘एउटा सर्भे गर्दा हामीले यति सम्म पायौं की ८,९ कक्षामा पढ्ने विद्यार्थीलाई गर्भ कसरी रहन्छ भन्ने कुरा नै थाहा छैन्। अझ अचम्मको कुरा त दुरुदराजका सरकारी विद्यालयका विद्यार्थी भन्दा शहरका विद्यार्थी यो विषयमा अनभिज्ञ रहेको पाइयो ।’ उनले नेपालमा ३५ प्रतिशत किशोरीको १८ वर्षमूनि विवाह भइसक्ने र तीमध्ये १४ प्रतिशत एक वर्षमै गर्भवती हुने गरेको तथ्यांक रहेको जानकारी दिए । उनले यौनिकता शिक्षा समयमै र राम्रोसँग बुझाएर दिन सकेमा यो समूहका किशोरकिशोरी जोखिममुक्त हुनसक्नेमा जोड दिए ।

यसैगरी पाठ्यक्रम विकास केन्द्रका अधिकृत कमलप्रसाद मिश्रले यौनिकता शिक्षा विषय अहिले  ९, १० कक्षामा ऐच्छिक मात्र रहेको र त्यसका कारण पढाउने शिक्षकको दरबन्दी नहुँदा अनिच्छुक शिक्षकले नै विषय पढाउन बाध्य रहेको बताए । उनले अनिच्छुक व्यक्तिले पढाउँदा विद्यार्थी लाभान्वित हुन नसकेको बताए । मिश्रले यौनिकता शिक्षा अनिवार्य नबनाएसम्म यो समस्या समाधान हुननसक्ने जिकीर गरे ।  उनले सबै सरोकारवालाको समन्वयमा यौनिकता शिक्षालाई अनिवार्य बनाउन पहल गर्नुपर्ने र त्यसमा लागि आफू सहयोग गर्न तयार रहेको समेत जिकीर गरे । यसैगरी कार्यक्रममा डा भगवान अर्यालले बृहत यौनिकता शिक्षाको प्रभावकारी कार्यान्वयनमा सामाजिक मूल्य मान्यताले प्रभाव पार्ने जिकीर गरे ।

दुई दिने कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षा मन्त्रालयका पदाधिकारी, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधी,  सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।

https://healthtvonline.com/health-news/2024/12/47484/