नेपाल परिवार नियोजन संघ बागलुङको आयोजनामा बागलुङ, लामिचौरमा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

Back to News

नेपाल परिवार नियोजन संघ बागलुङको आयोजना, गोदावरी एलमुनाई एशोसिएसन काठमाडौंको सहयोग र बागलुङ नगरपालिका-८ नं वडा कार्यालय र सिगाना मावि लामिचौरको समन्वयमा बागलुङ नगरपालिका-८, लामिचौर गाउँमा २०८१ पौष ६ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त निःशुल्क प्रसुति रोग तथा पाठेघरको मुखको क्यान्सर रोग परीक्षण शिविरबाट ११२ जना महिलाहरु लाभान्वित भएका छन् । शिविरमा स्त्री रोग विशषज्ञ डा. अजिशा सैजु र डा. सुरक्षा वेगमको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले महिलाहरुको स्वास्थ्य परीक्षण गरेको नेपाल परिवार नियोजन संघ बागलुङकी कार्यवाहक सभापति आशा राजभण्डारी भारीले नयाँविश्वलाई जानकारी दिइन् ।

शिविरमा एक जना महिलाको पाठेघरमा मासु पलाएकोमा सफल शल्यक्रिया गरी निकालिएको थियो। स्वास्थ्य शिविरमा एक सय जना महिलाहरुले यौन रोगको जाँच र परामर्श लिएका थिए ।साथै स्वास्थ्य शिविरमा छाला रोग विशषज्ञ डा. दिपक आर्यालले पनि सेवा प्रदान गर्नु भएको थियो । उक्त शिविरमा ४९ जना विरामीले छालाको जाँच गराएका थिए।

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरेर प्रसुति रोग तथा पाठेघरको मुखको क्यान्सर रोग परीक्षण शिविर आयोजना गरेकोमा परिवार नियोजन संघ बागलुङले प्रसङसनिय कार्य गरेको बताउनुभयो।

ग्रामीण क्षेत्रका धेरै महिलाहरुलाई प्रसुति रोग तथा पाठेघरको मुखको क्यान्सर रोगको बारेमा थाहा नभएकोले यसको बारेमा जनचेतना फैलाउन जरुरी भएको उहाँको भनाई थियो।

स्वास्थ्य परीक्षणमा आएका धेरै महिलाहरुमा पिसाब पोल्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने र महिनावारी गडबड देखिएको छ। स्वास्थ्य टोलीमा परिवार नियोजन संघ बागलुङकी नर्स आस्था केसी र नर्स सिता शर्माको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, गोदावरी एलमुनाई एशोसियसन काठमाडौंका अध्यक्ष प्रकाश बाबु केसी, कोषाध्यक्ष सुमन प्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघ केन्द्रिय कमिटीका कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ, सिगाना माविका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि गौतम, बागलुङ नगरपालिका ८ का वडा अध्यक्ष छमबहादुर कार्की, सिगाना माविका बाल क्लबका अध्यक्ष मिलन परियारले मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा सिगाना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद गौतमको स्वागत र शिक्षक भुपेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।